अछाम–१ मा भीम रावलको चुनावी चुनौती: पुरानो दबदबाबाट सीमित प्रभावसम्म
काठमाडौं, २४ माघ । कुनै समय सुदूरपश्चिममा नेकपा एमालेभित्र भीम रावलको दरिलो प्रभाव थियो। केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज रहँदा उनले दिएको निर्देशन कार्यकर्तास्तरसम्म अक्षरसः पालना हुन्थ्यो। त्यसबेला सुदूरपश्चिमको भूगोलबाट नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि देशको राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता बन्ने सम्भावना रावलमै देख्नेहरू धेरै थिए।
एमालेभित्र निरन्तर उकालो यात्रा तय गरेका रावलको त्यो राजनीतिक हैसियतले त्यस्तो मूल्यांकनलाई अस्वीकार गर्ने आधार थिएन। सुदूरपश्चिमबाट एमालेमा प्रतिनिधित्व गर्ने नेताकार्यकर्ताका लागि रावलको निर्णय अन्तिम मानिन्थ्यो।
तर समयसँगै उनको राजनीतिक अवस्थिति फेरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट टिकटसमेत नपाएका रावल पछिल्ला तीन वर्ष संसदीय राजनीतिबाट बाहिर रहे। त्यसपछि उनी पार्टीको कारबाहीमा परेर एमालेबाट निष्कासित भए।
हाल रावल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाले उनलाई अछाम–१ बाट उम्मेदवार बनाएको छ।
तर अछामको चुनावी मैदानमा रावल अहिले पहिले जस्तो प्रभावशाली एमाले नेता होइनन्। न उनको साथमा एमालेको शक्तिशाली संगठन छ, न मतदातामा उनी भविष्यमा देशको सर्वोच्च नेतृत्वमा पुग्ने विश्वास देखिन्छ। यद्यपि, रावल स्वयं भने त्यही सम्भावनालाई संकेत गर्दै चुनावी अभियानमा सक्रिय छन्।
मतदातासँग नजिक हुन उनी प्रायः स्थानीय अछामी भाषामै सम्बोधन गर्छन्। आफू भविष्यमा राष्ट्रिय नेतृत्वमा पुग्न सक्ने दाबी गर्दै सहयोग मागिरहेका रावलले चुनावी सभामा कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको नाम समेत प्रयोग गर्दै सहानुभूति जुटाउने प्रयास गरेका छन्।
यसै सन्दर्भमा अछामी भाषामै दिएको रावलको एक मन्तव्य सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ। उक्त मन्तव्यमा उनले देउवाको विगतको संघर्ष उल्लेख गर्दै सुदूरपश्चिमबाट एकजुट भई आवाज सिंहदरबारसम्म पुर्याउनुपर्ने बताएका छन्।
रावलको यो अभिव्यक्तिलाई कतिपयले भावनात्मक अपिलका रूपमा लिएका छन् भने कतिपयले उनको कमजोर राजनीतिक आधार लुकाउने प्रयासका रूपमा विश्लेषण गरेका छन्। चुनाव नजिकिँदै जाँदा अछाम–१ मा रावलको रणनीतिले कस्तो परिणाम ल्याउने हो भन्ने चासो बढ्दो छ।