काठमाडौँ महानगर क्षेत्रमा बागमती किनारमा फोहर फाल्नेलाई कारबाही गरिने
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बग्ने बागमती नदी तथा नदी किनारको दायाँ–बायाँ फोहर फाल्ने व्यक्तिमाथि आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती बढाई कानुनी कारबाही गर्ने भएको छ।
थापाथलीस्थित काठमाडौँ महानगरपालिका–११ मा आयोजित बागमती सफाइ अभियानकर्मीहरूको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिएका हुन्। उनका अनुसार नदी प्रदूषण नियन्त्रण र सार्वजनिक स्थानको स्वच्छता कायम गर्न कडाइका साथ अनुगमन सुरु गरिनेछ।
बैठकमा विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी–खोला, सार्वजनिक स्थान, चक्रपथ तथा देशका हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रमा निरन्तर सरसफाइ अभियान सञ्चालन हुँदै आएको उल्लेख गरिएको थियो। अभियानले आमनागरिकको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तन आएको अभियानकर्मी किशोरसिंह शाहीले बताए।
फोहरलाई वर्गीकरण गरी वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नुपर्नेमा बैठकले जोड दिएको छ। फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि कार्यान्वयनमा कमजोरी देखिएको भन्दै सम्बन्धित निकायले जिम्मेवारीका साथ काम गर्नुपर्ने सरसफाइ महाअभियान तथा उपत्यकाका अभियानकर्मीहरूको भनाइ छ।
यसैगरी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पनि नदी संरक्षण र फोहर व्यवस्थापनमा प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।