दमकमा टिपर–मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
विराटनगर, २१ माघ । झापाको दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरसँग दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ निवासी २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।