अभिनेता सुनिल थापाको निधनले मर्माहत भएको प्रधानमन्त्री कार्कीको प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई एक दरिलो खम्बा गुमाएको उल्लेख गरेकी छन्। ‘चिनो’ चलचित्रका राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्म उनका खलनायक र सहनायकका सशक्त भूमिकाले करोडौँ दर्शकको मन जित्न सफल भएको उनले स्मरण गरेकी छन्।
शोक सन्देशमा प्रधानमन्त्री कार्कीले कलाकार थापाले निभाएका हरेक चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गर्दै चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने बताएकी छन्।
प्रधानमन्त्रीले दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।
अभिनेता सुनिल थापाको आज बिहान हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो।