एलपीजी ग्यास अभावको हल्ला निराधार : नेपाल आयल निगम
२१ माघ, काठमाडौं। पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव हुन लागेको भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले स्पष्ट पारेको छ। निगमले ग्यासको आपूर्ति मागभन्दा बढी भइरहेको बताउँदै उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल देशमा दैनिक औसत ९० बुलेट अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर ग्यासको माग छ। तर भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनहरूमा मागभन्दा बढी परिमाणमा ग्यास लोडिङ भइरहेको उनले जानकारी दिए।
भट्टका अनुसार गत शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिण्डर) ग्यास लोडिङ भएको थियो। त्यसैगरी सोमबार ११५ बुलेट (१ लाख ४५ हजार १ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिण्डर) ग्यास लोडिङ गरिएको छ।
लोडिङ भएका बुलेटहरूमध्ये केही नेपाल भित्रिसकेको र केही बाटोमै रहेको जानकारी दिँदै उनले आगामी निर्वाचन अवधिभर पनि नियमित रूपमा ग्यास आपूर्ति भइरहने दाबी गरे।
ग्यासको आपूर्ति सहज र पर्याप्त रहेकाले अभावको त्रासमा परेर घर–घरमा अनावश्यक रूपमा सिलिण्डर भण्डारण नगर्न उनले उपभोक्तालाई अनुरोध गरे। निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब सिर्जना गर्ने चेतावनीसमेत दिएको छ।