राप्ती-बबई क्याम्पसमा जमुनाको अध्यक्षतामा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ समिति गठन
सल्यान । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले सल्यानको राप्ती-बबई क्याम्पसमा आफ्नो साङ्गठनिक उपस्थितिलाई बलियो बनाउँदै क्याम्पस इकाइ समिति गठन गरेको छ।
जमुना भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति
क्याम्पसमा आयोजित विद्यार्थी भेलाले जमुना भण्डारी को अध्यक्षतामा ७ सदस्यीय नयाँ क्याम्पस इकाइ समिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको सचिवमा विन्दु खड्का चयन हुनुभएको छ भने अन्य सदस्यहरूलाई पनि आपसी समझदारीमा जिम्मेवारी दिइएको आयोजकले जनाएको छ।

नेताहरूको उपस्थित र वैचारिक प्रशिक्षण
क्रान्तिकारी कम्युनिस्ट पार्टीको ४ नम्वर क्षेत्रिय ब्युरो विद्यार्थी फ्याक्सनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका ४ नम्बर क्षेत्रीय ब्युरोको विद्यार्थी फ्याक्सन इन्चार्ज हेमन्त वली र विद्यार्थी संयोजक हेमन्त डागीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको र संगठनको आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
"विद्यार्थी आन्दोलन परिवर्तनको आधार"
कार्यक्रमलाई सम्बोधन गर्दै फ्याक्सन इन्चार्ज हेमन्त वलीले विद्यार्थी आन्दोलनलाई सामाजिक परिवर्तनको मुख्य आधारका रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, "अबको समयमा सचेत, संगठित र वैचारिक रूपमा स्पष्ट भएको विद्यार्थी शक्ति निर्माण गर्न आवश्यक छ। संगठनमार्फत नै पार्टी र आन्दोलनलाई सुदृढ बनाउन सकिन्छ।"

अनुशासन र अध्ययनमा जोड
विद्यार्थी संयोजक हेमन्त डागीले विद्यार्थीहरू देशको भविष्य र परिवर्तनका संवाहक भएको उल्लेख गर्दै संगठन, अनुशासन र अध्ययनलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले क्याम्पस तहबाटै क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
संगठन विस्तारको अभियान तीव्र
हाल क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कारको कार्यदिशाअन्तर्गत सल्यान जिल्लाभर संगठन निर्माण र इकाइ विस्तारलाई तीव्रता दिइरहेको छ। यसै क्रममा राप्ती-बबई क्याम्पसमा भएको यो समिति गठनलाई पार्टीको अभियानको एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
