जथाभावी पार्किङ गरेका १५ वटा रात्री बस उपत्यका ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरेका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिएको छ।
आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानका क्रममा लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरू नियन्त्रणमा लिइएका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नपुगी बाटोमै पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका बसधनीलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।