संखुवासभामा ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते
संखुवासभा, २१ माघ । जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा ज्वाइँले खुकुरी प्रहार गर्दा एक वृद्ध गम्भीर घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ बजे पाँचखपन नगरपालिका–८ निवासी ७६ वर्षीय निङ्मा शेर्पामाथि उनकै ज्वाइँले धारिलो हतियार प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट निङ्मा शेर्पा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीका अनुसार चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले घरमा बसिरहेका ससुरा निङ्मा शेर्पामाथि खुकुरी प्रहार गरेका थिए। घटनापछि फरार भएका ओङ्दीलाई अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा गएको पाँच जनाको टोलीले गाउँमै लुकेको अवस्थामा पक्राउ गरेको हो।
गम्भीर घाइते निङ्मा शेर्पालाई उपचारका लागि आधारभूत अस्पताल वाना ल्याइएको छ। प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।