रास्वपा उम्मेदवार अमरकान्त चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक प्रतिनिधिसभा उम्मेदवारमाथि चुनाव प्रचारमा जुटिरहेका बेला भ्रष्टाचारको आरोप लागेको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका रास्वपाका अमरकान्त चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा बयानका लागि बोलाएको हो। आयोगले चौधरीसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा तान्ने निर्णय गरेको जनाएको छ।
अख्तियारका अनुसार चौधरीसँगै तत्कालीन विद्यालय व्यवस्थापन समितिका रामसागर मण्डल, सतेन्द्रकुमार मण्डल, रुञ्चीदेवी सदा, कविता सिंह, श्यामलादेवी मण्डल, दुखरण मण्डल, सुभाषकुमार साह र योगेन्द्रप्रसाद मेहतालाई पनि बयानमा बोलाइएको छ।
उम्मेदवार चौधरी गाउँस्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। उनीहरूविरुद्ध विद्यालय भवन निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो।
आयोगले डाक्नेश्वरी नगरपालिकालाई पत्र पठाउँदै नगरपालिका–५ मा अवस्थित उक्त विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष चौधरीसहित सम्बन्धित सबैलाई यही शुक्रबार बिहान १० बजे आयोगको अनुसन्धान शाखा नं. ४ (ख) मा उपस्थित गराइदिन आग्रह गरेको छ।
रास्वपा उम्मेदवार अमरकान्त चौधरी पूर्वसांसद चन्द्रकान्त चौधरीका पुत्र हुन्। यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) मा सक्रिय राजनीति गरेका चौधरी हाल रास्वपाबाट सांसद बन्ने दौडमा रहेका बेला उनीमाथि भ्रष्टाचार आरोप लागेको हो।