निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा उम्मेदवारलाई घोषणापत्र पेश गर्न आह्वान
काठमाडौं, फागुन १२ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो निर्वाचन घोषणापत्र पेश गर्न आह्वान गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार आयोगले माघ २७ गते निर्णय गर्दै उम्मेदवारलाई एक प्रति आफ्नो घोषणापत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन निर्देशन दिएको निर्वाचन शाखा अधिकृत (कानुन) अरुण अधिकारीले पत्राचार मार्फत जानकारी दिएका छन्।
आयोगले प्रदेश र जिल्लाका सबै निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखेर विवरण आयोगमा पठाउन निर्देशन दिएको छ। यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि पत्रमा अनुरोध गरिएको छ।
यसअघि आयोगले सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरिसकेको थियो। यस प्रक्रियाले निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।