निर्वाचन आउन २६ दिन बाँकी, २४ उम्मेदवारले दिए स्पष्टीकरण
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब २६ दिन मात्र बाँकी रहेको छ। निर्वाचनको तयारी तीव्र बन्दै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा समेत आयोगले कडाइ बढाएको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा ३४ राजनीतिक दल तथा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेकोमा २४ जनाले जवाफ बुझाएका छन् भने अझै १० उम्मेदवारले स्पष्टीकरण बुझाएका छैनन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्पष्टीकरण सोधिएका सबै उम्मेदवारमध्ये अधिकांशले जवाफ बुझाए पनि केहीको प्रतिक्रिया आउन बाँकी छ। आयोगले प्राप्त उजुरीका आधारमा आवश्यक जाँचबुझ गर्दै कारबाहीको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालित छन्।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषयबाहेक अन्य विषयको अनुगमन गर्ने अधिकार रहेको छ।
त्यसैगरी, जिल्लामा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा अघि बढिरहेको पनि आयोगले उल्लेख गरेको छ।
आयोगले जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आवश्यक कारबाही भइरहेको स्पष्ट पारेको छ।