नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्। जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले सोमबार जापानका विदेश राज्यमन्त्री होरी इवाओसँगको शिष्टाचार भेटमा उक्त धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक विश्वासिलो विकास साझेदार रहेको उल्लेख गर्दै अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोगमार्फत जापानले मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक जगेर्नामा महत्वपूर्ण योगदान दिएको बताए।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको चरणमा रहेकाले यस प्रक्रियामा जापानबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए।
राष्ट्रपति पौडेलले गौतम बुद्धको शिक्षाले दुई देशलाई सांस्कृतिक रूपमा जोडेको उल्लेख गर्दै लुम्बिनी विकासमा जापानले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे। साथै जापानमा रहेका नेपाली आप्रवासी समुदायको योगदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनेको उनले बताए।
भेटका क्रममा जापानका विदेश राज्यमन्त्री इवाओले संविधान र लोकतन्त्रको रक्षामा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको उल्लेख गर्दै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्र सुदृढीकरणमा जापानको निरन्तर सहयोग रहने बताए।
उनले नेपाल–जापान सम्बन्ध क्षेत्रीय शान्ति र विकाससँग जोडिएको बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने अपेक्षा व्यक्त गरे। साथै जापानले बाढीबाट क्षतिग्रस्त काठमाडौं–सिन्धुली सडक पुनर्निर्माण तथा काठमाडौँ–कोटेश्वर क्षेत्रमा ‘अन्डरपास’ निर्माण गर्ने निर्णय गरिसकेको जानकारी दिए।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डल हाल चारदिने औपचारिक भ्रमणमा जापानमा छन्।