स्वास्थ्य बीमामा ओपीडी सेवाको सीमा तोकियो
स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डका अनुसार ओपीडीमा बढी खर्च भएको भन्दै सेवा वर्गीकरण गरी सीमा तोकिएको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार ओपीडीपछि लाग्ने उपचार खर्च अस्पताल भर्ना, प्रयोगशाला परीक्षण तथा आकस्मिक सेवामा प्रयोग गर्न सकिनेछ। नयाँ व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ।
हाल स्वास्थ्य बीमामा आबद्ध हुन वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ, जसबाट पाँच सदस्यीय परिवारले एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउँछन्। तर ओपीडी सेवामा २५ हजार रुपैयाँभन्दा बढी खर्च भएमा अतिरिक्त रकम बिरामी आफैंले तिर्नुपर्नेछ।
बोर्डका अनुसार हाल बीमाको करिब ७१ प्रतिशत खर्च ओपीडी सेवामा जाने गरेको छ। सीमा लागू भएपछि बीमाको दुरुपयोग कम हुने दाबी गरिएको छ।
यद्यपि, विज्ञहरूले भने प्रिमियम वृद्धि र सेवा सीमितताले विपन्न वर्गमा आर्थिक भार बढ्न सक्ने तथा बीमितको संख्या घट्ने जोखिम रहेको बताएका छन्।