सीमा सुरक्षा बैठककै क्रममा एसपी घिमिरे अचेत, अवस्था गम्भीर
२३ माघ, विराटनगर । सीमा सुरक्षा सम्बन्धी बैठक चलिरहेका बेला सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् ।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल–भारत डिआइजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका एसपी घिमिरे अचानक ढलेका हुन् ।
अचेत अवस्थामा ढलेपछि घिमिरेलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज लगिएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए भने अचेत हुने क्रममा जिब्रोसमेत काटिएको थियो ।
घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतले उनको अवस्था ‘क्रिटिकल’ रहेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले बैठककै क्रममा घिमिरे ढलेपछि अस्पताल भर्ना गरिएको जानकारी दिए । “बैठक चलिरहेका बेला उहाँ अचानक ढल्नुभएको हो । हाल अवस्था गम्भीर रहेको बुझिएको छ,” डिआइजी न्यौपानेले बताए ।
एसपी घिमिरेको मोरङबाट मकवानपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भइसकेको थियो । उनी मोरङबाट भोलि बिदा भएर जाने तयारीमा रहेका बेला यो घटना भएको हो ।