प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
२० माघ, काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव रहेका शर्मा अनुभवी तथा कुशल बैंकरका रूपमा परिचित छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् भने त्यसअघि माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हालेका थिए ।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि सञ्चालक समितिले उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओका रूपमा नियुक्त गरेको हो । शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । सात वर्षसम्म एसबीआई बैंकमा काम गरेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए (फाइनान्स) अध्ययन पूरा गरेका शर्मा अर्थशास्त्र र एमबीए दुवैमा स्वर्ण पदक विजेता समेत हुन् ।