अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा
काठमाडौं, २४ माघ । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्।
यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्दै भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झार्ने बताएका थिए। तर, त्यसबेला सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।
अब संयुक्त वक्तव्य सार्वजनिक भएसँगै सम्झौताका मुख्य प्रावधानहरू बाहिर आएका छन्। भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै यस सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि करिब ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्बभन्दा बढी नेपाली रुपैयाँ) बराबरको अमेरिकी बजार खुल्ने दाबी गरेका छन्।
यसैबीच, ह्वाइट हाउसले एक कार्यकारी आदेश जारी गर्दै सम्झौताका केही महत्त्वपूर्ण सर्तहरू उल्लेख गरेको छ। उक्त आदेशअनुसार भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको छ। साथै, भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहकार्य विस्तार गर्न तयार रहेको उल्लेख गरिएको छ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने जनाएको छ। यस कटौतीपछि भारतीय उत्पादनमा लागू हुने ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ।
ह्वाइट हाउसको वक्तव्यमा अन्तरिम व्यापार सम्झौताको आधारभूत फ्रेमवर्क तय भइसकेको र त्यसअन्तर्गत केही सर्त तथा कार्यान्वयनका मापदण्डहरू पनि निर्धारण गरिएको उल्लेख गरिएको छ।