ध्वनि प्रदूषण फैलाउने आठ मोटरसाइकल काठमाडौंमा नियन्त्रणमा
काठमाडौं – काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी अत्यधिक चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
उपत्यकाका विभिन्न क्षेत्रमा चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दाले गुनासो बढाएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष जाँचमा ती आठ मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार, नियन्त्रणमा लिइएका मोटरसाइकलमा साइलेन्सर पाइप र अन्य संरचनामा अवैध परिवर्तन गरिएको पाइएको छ। यसका कारण अत्यधिक ध्वनि उत्पन्न भएको र वातावरणीय प्रदूषण बढे पनि सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको अधिकारीले बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, ध्वनि प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले विशेष सतर्कता अपनाइएको छ। “अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी र विद्यार्थीहरू बढी प्रभावित हुन्छन्,” उनले भने।
कानूनी कारबाही अन्तर्गत नियन्त्रणमा लिइएका मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। थप अनुसन्धान र कारबाहीका लागि ती सवारीसाधन अहिले ट्राफिक कार्यालयमा राखिएको छ।
ट्राफिक प्रहरीले सबै सवारी चालक र ग्यारेज सञ्चालकलाई कानुनले तोकेको मापदण्डअनुसार मात्र सवारी सञ्चालन गर्न र अवैध स्वरूप परिवर्तन नगर्न सचेत रहन आग्रह गरेको छ।