२४ दिन बाँकी, नयाँ संसद् भवन कहिँ बस्छ प्रतिनिधिसभा? निर्माण अझै अधुरो, पूर्वाधार प्राथमिकता
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भएको छैन। भवन निर्माणमा ९० प्रतिशत प्रगति भए पनि इन्टेरियर र रुफिङको काम ढिलो भइरहेको छ, जसका कारण म्याद पटक–पटक थपिँदै आएको छ।
संसद् सचिवालय र सहरी विकास मन्त्रालयले नयाँ भवनमै बैठक सञ्चालन गर्ने तयारी गरेका छन्, तर समयमै सबै काम सकिनेमा अझै निश्चितता छैन। भवन निर्माणको ठेक्का १६ असोज २०७६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा लगाइएको थियो। सुरुमा १६ असोज २०७९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम समयमै सकिएन र पाँच पटक म्याद थप भएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठका अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन गर्न आवश्यक पूर्वाधार तयारीमा अहिले प्राथमिकता दिइएको छ। ‘इन्टेरियर, लबी, टेबल–कुर्सी, माइक र साउन्ड सिस्टमको काम भइरहेको छ। अबको प्रतिनिधिसभा बैठक नयाँ भवनमै बस्ने छ,’ उनले बताए।
संसद् सचिवालयका सहसचिव एकराम गिरीले भने, ‘छिट्टै ६ वटा भवनको निर्माण सक्ने आश्वासन छ। न्यूनतम सेवा सुनिश्चित गरेर बैठक सञ्चालन हुनेछ। बाँकी भवनहरू क्रमशः उपलब्ध गराइनेछन्।’
सिंहदरबार परिसरको नयाँ संसद् भवन पाँच तला र १५६ रोपनी क्षेत्रमा निर्माण हुँदैछ। यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन र संसद् सचिवालय भवन निर्माण भइरहेको छ। ४७६ वटा चारपांग्रे र ८०० वटा दुईपांग्रे सवारीसाधन पार्किङको व्यवस्था पनि भइरहेको छ।
सहरी विकास मन्त्री कुमार इङ्नामका अनुसार, ‘निर्माण व्यवसायीलाई आवश्यक जनशक्ति परिचालन गराएर काम पूरा गराइनेछ। अब ढिलाइ हुने छुट छैन।’