वृद्धमाथि हातपात आरोपमा पारस बम पक्राउ, अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद
सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।
रक्सीले मातेका एक वृद्ध पुरुषमाथि मुक्का प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंगलबार उक्त घटनामा संलग्न बमलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो। हाल उनी परिसरको हिरासतमा छन्। कानुनी प्रावधानअनुसार सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार आज सरकारी वकिलको कार्यालयमा बमको बयान लिइँदै छ।
नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी कानुनी व्यवस्था गरिएको छ। उक्त दफाअनुसार सार्वजनिक स्थलमा कसैलाई गालीगलौज, कुटपिट वा अश्लील व्यवहार गरेमा अभद्र व्यवहारको कसुर लाग्ने व्यवस्था छ। यस्तो कसुर प्रमाणित भएमा अधिकतम एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। यदि उक्त व्यवहार यौनजन्य दुर्व्यवहारसँग सम्बन्धित देखिएमा दफा २२२ अन्तर्गत थप कडा सजाय हुन सक्ने प्रावधान छ।
स्थानीय प्रशासन ऐनअनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दा सामान्यतया प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन्। सजाय निर्धारण गर्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीसँगै हुन्छ।
बैतडी घर भएका ४२ वर्षीय बम हाल बालुवाटारमा बसोबास गर्दै आएका छन्। घटनाका सम्बन्धमा बमकी सालीले सार्वजनिक गरेको भिडियोमार्फत रक्सीले मातेका व्यक्तिले सुरुमा आफूहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको दाबी गरेकी छन्।
उनका अनुसार, “सुरुमा भिनाजुलाई गालीगलौज गर्ने र थुक्ने काम भयो। त्यसपछि मलाई पनि अश्लील गालीगलौज र सत्तोसराप गरियो। सहन नसकेपछि भिनाजुले दुई झापड हान्नुभएको हो।”