जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२२ माघ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार सिंहदरबारमा आगजनी गरेको भनी अभिव्यक्ति दिने तथा अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने कार्यमा संलग्न रहेको आधारमा गौतमलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गौतमले भिडलाई उत्तेजित बनाउने खालका अभिव्यक्ति दिँदै आपराधिक गतिविधि प्रोत्साहन गरेको पाइएपछि पक्राउ गरिएको हो।
गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूर अन्तर्गत ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।