खोटाङ र सप्तरीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
१९ माघ, काठमाडौं ।
खोटाङ र सप्तरीमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्यखोलास्थित सडकमा कदुवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०२–०२९ प ९७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय मोतीराज राईको मृत्यु भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ निवासी राई दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको रुम्जटार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित सडकमा ना.५ ख ८५८० नम्बरको ट्रकले प्रदेश–०५–००१ प ६८७३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक ३२ वर्षीय रूपक बस्नेतको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–४ बगहा निवासी बस्नेत गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल लहान, सिराहामा उपचारका क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।