सेना दिवस–२०८२ पूर्वाभ्यास सम्पन्न, प्रधानसेनापतिद्वारा विभिन्न युनिट पुरस्कृत
काठमाडौं — नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा मनाइने महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम आज सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ। कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देलले निरीक्षण गरेका छन्।
पूर्वाभ्यासका क्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण तथा राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरेका छन्।
त्यसैगरी, केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय स्थान हासिल गर्ने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापतिले प्रधानसेनापति ब्यानर प्रतियोगिता–२०८२ अन्तर्गत युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र इन्द्रदल गुल्मलाई पुरस्कार प्रदान गरेका छन्। साथै प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने अन्य युनिटहरूलाई पनि सम्मान गरिएको छ।
प्रकृति संरक्षण ट्रफी प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम स्थान हासिल गर्ने चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकलाई प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
यस अवसरमा अवकाशपश्चात् विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याएका उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत सम्मान गरिएको छ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमसहित सेना दिवस मनाउँदै आएको छ। यस वर्ष महाशिवरात्रि आगामी फागुन ३ गते मनाइँदै छ।