ललितपुरको नल्लुमा कम्युनिस्ट पार्टीका चार नेता नेपाली कांग्रेसमा प्रवेश
ललितपुरको कोन्ज्योसोम गाउँपालिका– ४ नल्लुमा कम्युनिस्ट पार्टीमा सक्रिय राजनीति गरेका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ छन् । नवप्रवेशीहरूलाई कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशम्शेर राणाले स्वागत गरे ।
कार्यक्रममा सहमहामन्त्री राणाले नल्लुसहित कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताए । उनले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको गणितमा समेत दूरगामी प्रभाव पार्ने बताए ।