त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखाका तीन कर्मचारी घुससहित पक्राउ
काठमाडौं, १९ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट पक्राउ गरेको हो।
अख्तियारका अनुसार पुडासैनीको साथबाट घुस लिएको १० हजार रुपैयाँ र १ लाख ३६ हजार ४२० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको रकमसहित २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको छ।
कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानमा घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियारले छापा मारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यस क्रममा २३ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।