इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु
चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट गोरखाको शहीद लखन गाउँपालिका–२ का अन्दाजी ३४ वर्षीय जीवन परियार गम्भीर घाइते भएका थिए ।
घाइते परियारलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बस चालक कैलालीको लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष विश्वकर्मा र बसलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।