चितवनमा दुई युवाले आमाको नामबाट नागरिकता पाए
चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन्। खैरहनी नगरपालिका–५ निवासी निश्चल चौधरी र शङ्कर चौधरीले आमा निशा महतो (चौधरी) को नामबाट नागरिकता प्राप्त गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनीहरूलाई नागरिकता प्रदान गर्नुभएको हो। नागरिकता ऐन तथा नियमावलीमा गरिएको पछिल्लो संशोधनपछि चितवन जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका दाजुभाइलाई नागरिकता प्रदान गरिएको हो। आमाको नामबाट नागरिकता दिन पाउँदा आफू र कर्मचारी टोली हर्षित भएको उहाँले बताउनुभयो।
नागरिकता प्राप्त गरेपछि दुवै युवाले आफूहरू पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरेका छन्। आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरूले बताएका छन्।
दुवै दाजुभाइले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका हुन्।