दाङ निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला
काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै क्षेत्रका नेपाली कांग्रेस उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला आयोजना गरिएको छ।
शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ–काठमाडौं युवा भेला द्वारा आयोजित कार्यक्रममा लगभग १५० जना विद्यार्थी, युवा र पेशागत वर्गका प्रतिनिधिहरू सहभागी थिए। भेलाले हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गर्दै तत्काल चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको छ। साथै, भविष्यमा यसलाई नेपाली कांग्रेस दाङ–काठमाडौं सम्पर्क समितिमा रूपान्तरण गर्ने योजना रहेको छ।
नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्र र संविधानको रक्षा गर्न कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए। पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचारमा केन्द्रित हुन र दाङ पुग्न आग्रह गरे। नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले पनि सहयोगी अभियान मार्फत निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताए।
युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यस्ता भेला र छलफल जारी राखेर दाङको चुनावी वातावरण र विकासका विषयमा बहस गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक सञ्जालमा सक्रियता राखेर पनि चुनावमा प्रभाव पार्न सकिने भएकाले युवा र विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए।
फागुन २१ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं २ बाट युवा व्यवसायी एवं महासमिति सदस्य किरण किशोर घिमिरे, र क्षेत्र नं ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार रहेका छन्।