गगन थापाको देशव्यापी अभियान, काठमाडौं–३ मा कांग्रेसको स्पष्ट पकड
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा पार्टीको संगठनात्मक अभियान तीव्र बन्दै गएको छ। पार्टीले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेसँगै देशभर कांग्रेसका उम्मेदवारलाई जिताउने रणनीति सक्रिय रूपमा अघि बढाइएको छ।
हाल सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका सभापति गगन थापा स्वयं देशभर कांग्रेसका उम्मेदवारलाई जिताउने अभियानमा सक्रिय छन्। यही क्रममा उनले काठमाडौं क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रमेश अर्यालसँग भेटघाट तथा छलफल गरेका छन्। सभापति थापाको सक्रियताले काठमाडौं–३ को चुनावी माहोलमा नयाँ उत्साह थपिएको छ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेसका उम्मेदवार रमेश अर्यालको पक्षमा पार्टीको संघ, प्रदेश र स्थानीय तहका नेताहरू एकताबद्ध रूपमा उभिएका छन्। सभापति थापा स्वयं मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक शक्ति सन्तुलन कांग्रेसतर्फ झुकेको विश्लेषण हुन थालेको छ।
काठमाडौं–३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका रमेश अर्याल नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। उनी अघिल्लो स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निर्वाचित भएका थिए। कार्यकालमा विकास र सुशासनका काममार्फत उनले स्थानीयस्तरमा जनविश्वास आर्जन गरेका छन्।
यस क्षेत्रबाट अघिल्लो प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका पूर्वसभापति सन्तोष चालिसे हाल क्षेत्रीय कांग्रेस सभापतिको जिम्मेवारीमा छन्। चालिसेले पार्टीले गरेका कामको मूल्यांकन जनताले मतदानमार्फत गर्ने बताउँदै रमेश अर्याललाई जिताउने अभियानको नेतृत्व गर्ने बताएका छन्।
प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा र विमल ठकुरीले पनि अर्याललाई पूर्ण समर्थन जनाएका छन्। संघ, प्रदेश र स्थानीय तहबीच देखिएको समन्वयलाई कांग्रेसको प्रमुख राजनीतिक बलका रूपमा लिइएको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। स्वास्थ्य, शिक्षा, सडक र खानेपानीलगायत क्षेत्रमा गरिएको प्रभावकारी कामका कारण उनी राष्ट्रियस्तरमा चिनिएका छन्। स्थानीय तहको सुशासन र सेवा प्रवाहमा गरेको योगदानका आधारमा मेयर रिसाल विभिन्न राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन्। उनले नगरमा हासिल गरिएको विकास अनुभव संघीय तहसम्म विस्तार गर्न रमेश अर्यालको जित आवश्यक रहेको बताएका छन्।
पार्टी सभापतिदेखि स्थानीय तहसम्मका प्रभावशाली नेताहरू एउटै लक्ष्यसहित सक्रिय भएपछि काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको चुनावी स्थिति बलियो बन्दै गएको राजनीतिक विश्लेषण हुन थालेको छ।

