कम्बोडिया पठाउने नाममा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ निवासी ४१ वर्षीय बविलाल लामा रहेका छन्। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै लामाले ४ लाख ३५ हजार रुपैयाँ लिई लामो समयसम्म पीडितलाई झुक्यानमा राखी सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरिएको हो। पक्राउ परेका लामालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।