चीनले ‘लुकेका ढोकाका ह्यान्डल’मा प्रतिबन्ध लगायो, ईभी सुरक्षा मापदण्ड कडा
२२ माघ, काठमाडौं — चीनले विद्युत् सवारीसाधन (ईभी) मा लोकप्रिय ‘लुकेका ढोकाका ह्यान्डल’मा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णयसँगै चीन विश्वकै पहिलो प्रमुख अटोमोबाइल बजार बनेको छ जसले यस्तो कदम चाल्दैछ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नयाँ नियमअनुसार गाडीको ‘टेलगेट’ बाहेक सबै ढोकामा अब अनिवार्य रूपमा मेकानिकल (यान्त्रिक) रिलिज सिस्टम हुनु पर्नेछ। पछिल्ला वर्षका केही दुर्घटनामा इलेक्ट्रोनिक ढोका नखुलेर यात्रुहरू भित्रै फसेको घटनाहरू सार्वजनिक भएपछि सरकारले सुरक्षा जोखिम घटाउने उद्देश्यले यो निर्णय गरेको हो।
नियम १ जनवरी २०२७ देखि पूर्ण रूपमा लागू हुनेछ भने पहिले स्वीकृत र बजारमा रहेका मोडलहरूलाई १ जनवरी २०२९ सम्म डिजाइन परिवर्तन गर्ने समय दिइएको छ। नयाँ मापदण्ड अनुसार बाहिरी ह्यान्डलमा कम्तीमा ६ × २ × २.५ से.मी. आकारको खाली ठाउँ हुनुपर्छ, जसले आपतकालीन अवस्थामा सजिलै ढोका खोल्न सकियोस्।
यस कदमले टेस्ला मोडल वाई, मोडल ३, बीएमडब्लु आईएक्स-३ र चिनियाँ प्रिमियम ईभीहरूलाई असर गर्ने अनुमान गरिएको छ। विशेषज्ञहरूको अनुसार चीनको यो निर्णयले विश्वभरका कार निर्माताहरूलाई महँगो रि-डिजाइन गर्न बाध्य पार्नेछ।
अमेरिकामा पनि टेस्लाका इलेक्ट्रोनिक ह्यान्डलहरू अनुसन्धानको घेरामा छन्। गत वर्ष अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले ढोकाहरू काम नगरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो। कतिपय घटनामा बालबालिकालाई गाडीभित्रबाट निकाल्न झ्याल फुटाउनु परेको रिपोर्टहरू सार्वजनिक भएका थिए।