पहिलो नेपाल आदिवासी ज्ञान सम्मेलन आयोजना हुँदै
काठमाडौं, १९ माघ। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक *नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२* आयोजना गर्ने भएको छ। प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङका अनुसार आदिवासी समुदाय, स्रोत व्यक्ति, विज्ञ तथा नीति निर्मातालाई एकै थलोमा ल्याई आदिवासी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
प्रतिष्ठानको स्थापनाको २५औं वर्षको उपलक्ष्यमा रजत जयन्तीका रूपमा आगामी २५ देखि २७ माघसम्म ज्ञान सम्मेलनसहित सांस्कृतिक तथा खाना महोत्सव आयोजना गरिने उनले बताए।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी पनि प्रतिष्ठानले दिएको छ। *ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण* भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमार्फत पुस्तौंदेखि अभ्यासमा रहेका आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणलाई प्रवर्द्धन गरिने जनाइएको छ।
सम्मेलनको दोस्रो दिन आदिवासी परम्परा र ज्ञान प्रणालीको व्यापकीकरणसम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछ। आदिवासी ज्ञान प्रणाली परम्परा मात्र नभई सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको प्रतिष्ठानले जनाएको छ।