जेनजी शहीद परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने सरकारको तयारी
२० माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरण गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार वितरण कार्यक्रमको खाका तथा रकम विवरणसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार सुविधा उपलब्ध गराउने निर्णय भए पनि जेनजी पक्षले जीवन निर्वाह भत्ता कर्मचारीले तलब पाएजस्तै मासिक रूपमा दिनुपर्ने माग राखेपछि मन्त्रिपरिषद्ले अनुदान रकम उपलब्ध गराउने नयाँ निर्णय गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४२ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरेको छ ।
शहीद घोषणा गरिएकाका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने तयारी गरेको छ । चाडपर्व भत्तासहित वार्षिक १३ महिनाको सुविधा दिने व्यवस्था गरिएको छ । ४२ जना शहीद परिवारलाई उक्त दरले वितरण गर्दा कुल रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ पुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।