लुम्बिनी प्रदेशमै पहिलो ‘ई–ड्राइभ नेपाल’ सेवा नेपालगञ्जमा औपचारिक शुभारम्भ
नेपालगञ्ज । लुम्बिनी प्रदेशमै पहिलो पटक अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ। उक्त सेवाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गरेका हुन्। सेवा आजैदेखि बाँके र बर्दिया जिल्लामा सुरु गरिएको छ।
सेवाको शुभारम्भ कार्यक्रममा नगरप्रमुख बिष्टले प्रविधिमैत्री सेवाले सहरको यातायात प्रणालीलाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले नेपालगञ्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुर्याएको पनि बताए।
ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीका अनुसार १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको हो। आजैदेखि बाँके र बर्दियामा एकसाथ सेवा सुरु गरिएको उनले जानकारी दिए।
निर्देशक भण्डारीले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गएको उल्लेख गर्दै ट्याक्सी सेवालाई प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याइएको बताए।
कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवायुवतीलाई स्वदेशमै स्वरोजगार र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सेवा सुरु गरिएको बताए। “युवालाई विदेश जान बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो,” उनले भने, “आगामी दिनमा ई–ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ।”
हाल ई–ड्राइभ लुम्बिनीले सात करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। रूपन्देहीमा ११० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ वटा विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको निर्देशक भण्डारीले जानकारी दिए।