राष्ट्र संकटमा पर्दा दलहरूबीच सहकार्य अनिवार्य हुन्छ : प्रचण्ड
गलकोट, बागलुङ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अप्ठेरो परिस्थितिमा परेका बेला विभिन्न राजनीतिक दलहरूबीच सहकार्य हुँदै आएको बताएका छन्।
बागलुङ जिल्लाको गलकोटमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिहरूबीच राजनीतिक मतभेद रहे पनि राष्ट्रको हितका लागि एकता र सहकार्य अपरिहार्य हुने बताए। उनले बागलुङमा गरिएको चुनावी तालमेलले देशभर एकताको सन्देश दिएको उल्लेख गर्दै यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने विश्वास व्यक्त गरे।
“विभिन्न कम्युनिष्ट पार्टीमा मतभेद भए पनि राष्ट्र संकटमा पर्दा हामी विगतदेखि नै सहकार्य गर्दै आएका छौँ,” दाहालले भने, “देशलाई संकटबाट जोगाउन यसपटक पनि कार्यगत एकता र गठबन्धन आवश्यक भएको छ।”
उनले गत भदौ २३ र २४ मा भएका आन्दोलनपछिको अवस्थालाई मध्यनजर गर्दै पार्टी एकता र सहकार्यलाई अघि बढाइएको बताए। सोही क्रममा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएको उनको भनाइ छ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर संकटको मोडमा पुगेको भन्दै आगामी निर्वाचनले सही दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरे। उनले मतदातालाई फागुन २१ गते हुने निर्वाचनलाई गम्भीरतापूर्वक लिन र देशको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
कार्यक्रममा जानकारी गराइएअनुसार बागलुङका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेकपाले जनमोर्चाका कृष्ण अधिकारीलाई र क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई समर्थन गर्ने सहमति भएको छ।