क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीसाधनमाथि कारबाहीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कडाइका साथ कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
सोमबार महासंघले यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउँदै केही मालबहाक सवारीसाधनले तोकिएको भारवहन क्षमता भन्दा अत्यधिक भार बोकी सञ्चालन भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।
महासंघका अनुसार मालबहाक सवारीसाधन सिनो कम्पनीका ट्रकहरूलाई भारवहन नियमन सम्बन्धी निर्देशिका विपरीत बढी क्षमता स्वीकृत गरिएको छ, जसमा सरकारी निकायको संलग्नता देखिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
राज्यको निर्देशिका अनुसार सञ्चालन भइरहेका सवारीसाधनलाई विस्थापित गर्ने गरी सिनो कम्पनीका ट्रकलाई दिइएको बढी भारवहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न महासंघले माग गरेको छ। महासंघका सदस्य गोकर्ण पराजुलीले सबै प्रकारका मालबहाक सवारीसाधनको भारवहन क्षमतामा एकरूपता कायम गर्नुपर्ने बताए।
त्यसैगरी महासंघले देशभर रहेका तौलपुललाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने र क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनमाथि कडा कारबाही गर्नुपर्ने मागसमेत अघि सारेको छ।