वीरगञ्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण, तीन घाइते
पर्सा । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो। छापाका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
कपडा बरामदपछि तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गर्दै आक्रमण गरेको जनाइएको छ। आक्रमणका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक वानटेन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ।
घाइते भएका तीनै जना सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको थापाले जानकारी दिए। बरामद गरिएको अवैध सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको पनि उनले बताए।