निर्वाचन प्रहरीमा स्नातकोत्तर उत्तीर्णसमेत भर्ना
काठमाडौं, १९ माघ। यसपटकको निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा स्नातकोत्तर उत्तीर्णसमेत भर्ना भएका छन्।
नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरिसकेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ। कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटाउने तयारी गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ गतेदेखि निर्वाचन प्रहरीको १० दिने तालिम सुरु भइसकेको छ। तालिममा शारीरिक व्यायाम, सलामी अभ्यास तथा सर्वसाधारणसँगको व्यवहारसम्बन्धी प्रशिक्षण दिइँदैछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा मात्र ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन्, जसमध्ये ६ जना स्नातकोत्तर र ३५ जना स्नातक उत्तीर्ण छन्।
देशभर भर्ना भएका स्नातकोत्तर उत्तीर्णको तथ्यांक संकलन भइरहेको नेपाल प्रहरीले जनाएको छ।