सल्यानमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
सल्यानमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–६, हात्तीढुंगाका ६५ वर्षीय चन्द्र बहादुर खप्तडी रहेका छन् ।
सल्यान प्रहरीका अनुसार, खप्तडी सोमबार दिउँसो १२ बजे आफ्नै घरदेखि करिब ३०० मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएका थिए ।
साँझसम्म पनि घर नफर्किएपछि स्थानीयले उनी बाघको आक्रमणमा परेको आशंका गरेका थिए । स्थानीयवासीले मंगलबार बिहानै प्रहरी चौकी घुईयाबारीमा फोनमार्फत जानकारी गराए ।
जानकारी पाउनासाथ प्रहरी नायव निरीक्षक लाल बहादुर थापाको कमान्डमा ३ जनाको प्रहरी टोली, बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट घुईयाबारीबाट जमदार यज्ञ बहादुर कुमालको कमान्डमा ७ जनाको आर्मी टोली सहित स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको भयो ।
खोजीका क्रममा ११ बजे मृतक खप्पतडीको शव भेटिएको सल्यान प्रहरीले जनाएको छ । सल्यानमा केही दिनअघि मात्रै पनि बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।