रास्वपा–उज्यालो नेपाल एकतामा उल्झन, असन्तुष्टि बढ्दै
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको पहलमा खुलेको उज्यालो नेपाल पार्टीबीचको एकतामा उल्झन बढ्दै गएको छ। १४ पुसको राति एकतामा सहमति भए पनि त्यसयता दुवै पक्षबीच असन्तुष्टि चुलिँदै गएको छ।
उज्यालो नेपालका अधिकांश नेताहरू सुरुदेखि नै एकताको विपक्षमा रहेका थिए। घिसिङले बाध्यतामा एकता गरेको भन्दै आलोचना हुँदै आएको छ, जसका कारण एकताको प्रक्रिया हालसम्म टुंगो लाग्न सकेको छैन।
दुई पक्षबीच संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा नीतिगत मतभेद देखिएको छ। उज्यालो नेपाल पक्षले यी विषयमा स्पष्ट सहमति मागेको भए पनि रवि लामिछाने त्यसमा तयार नभएको उनीहरूको दाबी छ। शुक्रबार बिहान घिसिङ र लामिछानेबीच भएको भेटमा पनि लिखित सहमति हुन सकेन।
यस्तै, समानुपातिक बन्दसूचीमा पनि उज्यालो नेपाल असन्तुष्ट छ। सुरुमा १८ जनाको नाम मागिए पनि १४ जनाको नाम मात्र समावेश गरिएको र केहीलाई सांसद नबन्ने सूचीमा राखिएको गुनासो छ। केन्द्रीय समितिमा २६ जना समावेश गर्ने भनिए पनि त्यसमा पनि सहमति जुट्न सकेको छैन।
उज्यालो नेपालका नेताहरूले आफूहरूलाई रास्वपामा तेस्रो दर्जामा राखिएको महसुस हुन थालेको बताएका छन्। रास्वपाले पहिला बालेन्द्र शाहको समूहसँग छलफल गर्ने गरेको गुनासो उनीहरूको छ।
यसैबीच, उज्यालो नेपालका अधिकांश नेताहरू प्रत्यक्षतर्फ एक्लै चुनाव लड्नुपर्ने पक्षमा देखिएका छन्। यद्यपि नेता गणेश घिसिङले भने अहिले नीतिगत विषयमै केन्द्रित रहेको बताएका छन्।