दमकमा थुप्पा उद्योग र घरमा आगलागी, १ करोड ३० लाख बराबरको क्षति
झापा, दमक
झापाको दमक नगरपालिका–९ स्थित एक थुप्पा उद्योग र सोसँगै रहेको घरमा आगलागी हुँदा करिब १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
दमक–९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावटका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा पनि आगो फैलिँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाबाट आएका बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
उद्योग र घर दुवै पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।