विशेष महाधिवेशनको निमन्त्रणा दिन पुगेका नेता साहलाई देउवा निवासमा अपमान
२६ पुस, काठमाडौं । भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि त्यस पक्षका नेताहरू शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउन व्यस्त भएका छन्।
यसै क्रममा विशेष महाधिवेशन पक्षका नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पत्र बुझाउन महाराजगञ्जस्थित निवास पुगेका थिए। साहका अनुसार निवासको कम्पाउन्डमा प्रवेश पाएपछि उनलाई करिब आधा घण्टा पर्खाइयो।
पछि सभापति देउवाका स्वकीय सचिव भानु देउवा बाहिर आएर आफू किन आएको हो भनेर सोधेको साहले बताए। आफूले विशेष महाधिवेशनको निमन्त्रणा पत्र बुझाउन आएको जानकारी गराएपछि अपमानजनक व्यवहार गरिएको उनको आरोप छ।
“मैले विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेपछि भानु देउवाले ‘तपाईंलाई लाज लाग्दैन’ भन्दै पत्र मेरै गोजीमा हालिदिनुभयो र बाहिर निस्कन आदेश दिनुभयो,” साहले भने, “उहाँले ‘निस्किहाल, निस्किहाल’ भनेर हामीलाई पठाउनुभयो।”
साहका अनुसार सोही समयमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य शीर्ष नेताहरू पनि देउवा निवासमै उपस्थित थिए र उनीहरूलाई निमन्त्रणा पत्र त्यहीँ बुझाइएको थियो।
घटनाले विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्रको आन्तरिक तनाव थप सतहमा आएको संकेत गरेको छ।