काभ्रेको खानीखोलामा लडेर प्रहरी हवल्दारको मृत्यु
२८ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला गाउँपालिका–२, खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत एक प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ।
प्रहरी चौकी श्यामपाटीको दरबन्दीमा रही हाल प्रहरी चौकी फलामेटारमा कार्यरत दोलखा शैलुङ गाउँपालिका–५, काटाकुटी निवासी ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
एसपी शाहका अनुसार खड्का सूचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रवाहका लागि खटिएका बेला सोमबार दिउँसो करिब ३:३० बजे गोरेटो बाटोबाट करिब २५ मिटर तल सडकतर्फ लडेर मृत अवस्थामा फेला परेका थिए।
घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरी हवल्दार खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत थिए।