विशेष महाधिवेशनबाट पद नचाहिएको गगन थापाको स्पष्टोक्ति
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई कुनै पनि पद नचाहिएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै महामन्त्री थापाले पदका लागि विशेष महाधिवेशन नगरिएको आफूले स्पष्ट बुझेको बताए।
उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न उठाउने अधिकार सबैसँग रहेको उल्लेख गर्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा विद्रोह भएको धारणा राखे। “यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नुजस्तै हो,” उनले भने।
महामन्त्री थापाले पार्टीभित्र गुटभन्दा पनि गिरोह बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई बदल्न अपरिहार्य भएको बताए। साथै, बाहिर चलाइएका विभिन्न हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे।
“अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही भागबण्डाका लागि भनिएको छ। म ती हल्लाको पछि लागेको छैन, तपाईंहरू पनि नलाग्नुस्,” उनले भने, “यो हलको म्यान्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने कुनै पनि सहमति यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ।”
महामन्त्री थापाले विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण ढङ्गले टुंग्याउनुपर्नेमा जोड दिए।