गगन थापा नेतृत्वको कांग्रेस नवीनताका साथ अघि बढ्छ: उपसभापति शर्मा
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
शर्माले गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाउने संकल्प समेत गरे। पार्टीको आन्तरिक एकता बलियो बनाउँदै एकजुट भएर जनताका मुद्दा सम्बोधन गर्न लागिपर्ने उनको भनाइ छ। उनले भने, ‘सुनौलो बिहानीमा ब्युँझिदै गर्नुभएका आमाबुवा, दाजुभाईलाई भन्न चाहन्छु, गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ भएर आउँदैछ, नविन भएर आउँदैछ। कांग्रेस विगतका कमी कमजोरीहरुको लागि आत्मआलोचना गरेर आउँदैछ। फेरी हाम्रा कारण कँहीकतै कसैको मन दुखेको छ भने ती सबैसँग क्षमा माग्न आउँदैछ।’
उपसभापति शर्माले अबको १०-१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने सपना बोकेर पार्टी अघि बढ्ने बताए। उनले कांग्रेस जनताको विश्वास जित्दै देश विकासको मार्गमा सक्रिय भूमिका खेल्न तयार रहेको सन्देश दिए।