निर्वाचन बहिष्कार गर्दै सल्यानमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको मशाल जुलुस
क्रान्तिकारी कम्युनिष्ट पार्टीले सल्यान जिल्लामा निर्वाचन बहिष्कारको केन्द्रीय कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउँदै आज मशाल जुलुस प्रदर्शन गरेको छ। देशभर उम्मेदवारी मनोनयनको प्रक्रिया चलिरहँदा पार्टीले सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा राँके जुलुस प्रदर्शन गरी निर्वाचनप्रति आफ्नो कडा विरोध र स्पष्ट राजनीतिक अडान सार्वजनिक गरेको हो।
श्रीनगरमा राँके जुलुसको राप केन्द्रीय संयुक्त संघर्ष समितिको निर्देशनअनुसार शारदा नगरपालिका१, श्रीनगरमा निकालिएको मशाल जुलुसले सल्यान जिल्ला भरी तरङ्ग ल्याएको छ । जिल्ला सेक्रेटरी उज्जवलको नेतृत्वमा उत्रिएका पार्टीका ईमान्दार नेता-कार्यकर्ताहरूले निर्वाचन बहिष्कार गरौँ भन्दै चर्को नाराबाजी गरेका थिए। अत्यन्तै व्यवस्थित, सभ्य र अनुशासित रूपमा सम्पन्न भएको उक्त जुलुसले जिल्लाको राजनीतिक वृत्तमा विशेष तरंग पैदा गरेको छ।
क्रान्तिकारी सोच र त्यागको उदाहरण सल्यानमा निर्वाचन बहिष्कार कार्यक्रम केवल औपचारिक मात्र नभई व्यवहारमै प्रभावकारी देखिनुको मुख्य कारण यहाँको नेतृत्वको क्रान्तिकारी चरित्र रहेको पार्टीले जनाएको छ। जिल्ला नेतृत्व र अन्य जिम्मेवार सदस्यहरू उच्च क्रान्तिकारी सोचले सुसज्जित रहेको र देशको आमूल परिवर्तनका लागि जुनसुकै त्याग गर्न पनि तयार रहेकाले सल्यान देशभरमै केन्द्रीय निर्देशन कार्यान्वयन गर्ने अग्रणी जिल्ला बनेको हो।
जिल्ला सेक्रेटरी उज्जवलले भने, "हाम्रो टिमको सशक्त संगठनात्मक क्षमता र कार्यकर्ताहरूको पार्टीप्रतिको निष्ठाका कारण हामीले केन्द्रीय नीतिलाई हुबहु र प्रभावकारी रूपमा लागू गरिरहेका छौँ। यो मशाल जुलुस त्यसैको एउटा कडी हो।"
संगठनात्मक दृढता र जनस्तरमा प्रभाव पार्टीका अनुसार जिल्ला कमिटी, क्षेत्रीय तह र फिल्डमा खटिने कार्यकर्ताबीचको लोभलाग्दो समन्वयका कारण बहिष्कार अभियानले जनस्तरमा समेत प्रभाव जमाउँदै लगेको छ। पार्टीप्रतिको उच्च प्रतिबद्धता र निष्ठावान कार्यकर्ताको सक्रियताले सल्यानमा राजनीतिक चेतना विस्तार भएको र पार्टीको प्रभाव क्रमशः विस्तार हुँदै गएको दाबी नेतृत्वले गरेको छ।
आगामी दिनमा पनि सल्यान जिल्लाले केन्द्रीय निर्देशनलाई पहिलो प्राथमिकतामा राखेर क्रान्तिकारी आन्दोलनलाई थप उचाइमा पुर्याउने संकल्प गरेको छ।
