पूर्णबहादुर खड्काको गृह जिल्लाबाट ९ जना नेता विशेष महाधिवेशनमा सहभागी
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतबाट नै एक जना केन्द्रीय सदस्यसहित ९ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । केन्द्रीय सदस्य जानकी सिंह लगायतका प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।
कर्णाली प्रदेशसभाकी सांसद समेत रहेकी सिंहले ०७९ को चुनावपछि खड्काको टिम छाडेको चर्चा थियो । यद्यपि, भावी सभापतिको लाइनमा रहेका खड्काको गृह जिल्लामै सिंह लगायतका नेताहरू विशेष महाधिवेशनमा सहभागी हुनुलाई खड्काले पार्टीभित्र नेताहरूलाई मिलाउन नसकेको टिप्पणी सुरु भएको छ ।
सिंहसहित कांग्रेसका पूर्वजिल्ला सभापति कमलराज रेग्मी, लोकबहादुर विश्वकर्मा, तीर्थजंग शाही, कालीप्रसाद शाक्य, धना विष्ट, कर्ण चन्द, पूर्ण राना लगायतका नेता तथा प्रतिनिधिहरू विशेष महाधिवेशनमा पुगेका छन् । यस्तै, अन्य केही नेताहरू पनि काठमाडौँमा सहभागी भएको र हस्ताक्षर गर्ने कार्य बाँकी नै रहेको कांग्रेस सुर्खेतका पूर्व सभापति कमलराज रेग्मीले बताए ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ५० बढी महाधिवेशन प्रतिनिधिहरू छन् । कर्णालीमा संस्थापन इत्तरको नेतृत्व गरिरहेका हृदयराम थानीले भने अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् ।