नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने
काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि मात्र सुरु हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने भनिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया बाँकी रहनुका साथै खाजाको समय छुट्याइएकाले बन्दसत्र दुई घण्टा ढिला गरी सुरु हुन लागेको हो।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ता तथा खाजाको व्यवस्था गरिनेछ भने बिहान १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ।
आइतबार बेलुकीसम्म कति महाधिवेशन प्रतिनिधिले दर्ता गरिसके भन्ने यकिन तथ्यांक प्राप्त भइसकेको छैन। प्रारम्भिक रूपमा दुई हजार दुई सयभन्दा बढी प्रतिनिधिले दर्ता गरेको भनिए पनि दर्ता फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबार मात्रै यकिन विवरण सार्वजनिक हुने जनाइएको छ।
उद्घाटनसत्र सम्पन्न भएपछि दर्ता फाइल बन्द गरिएको र रात्रिभोजको कार्यक्रम सञ्चालन भएकाले आइतबारका लागि दर्ता प्रक्रिया रोकिएको थियो। उद्घाटनसत्रका कारण धेरै प्रतिनिधिले दर्ता गर्न नपाएको देखिएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया निरन्तरता पाउने भएको हो।
बन्दसत्र सुरु हुनुअघि मात्र महाधिवेशन प्रतिनिधिहरूको यकिन सहभागिता संख्या सार्वजनिक हुने बताइएको छ।