ध्रुव वाग्ले विशेष महाधिवेशन पक्षमा खुले, देउवालाई निर्देशन
काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्य ध्रुव वाग्ले (तनहुँ) पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। वाग्लेले अनलाइनखबरसँग कुरा गर्दै विधिसम्मत ढंगले डाकिएको विशेष महाधिवेशनलाई केन्द्रीय समितिले अवैधानिक भन्न नपाउने बताए।
उनले विशेष महाधिवेशन विधिसम्मत ढंगले डाकिएको र विधानको अपव्याख्या भईरहेको होइन भनी स्पष्ट पार्दै पार्टीलाई नयाँ नेतृत्व र नयाँ सन्देशसहित आगामी निर्वाचनमा अघि बढाउनुपर्नेमा जोड दिए।
वाग्लेले जेनजी आन्दोलनको क्रममा घाइते भएका देउवाले सिंगापुर जाँदा कार्यवाहक दिएका भए पनि फर्केपछि सम्पूर्ण शक्ति आफैंले हातमा लिएर कांग्रेस चलाउन खोज्नु पार्टीहितमा नरहेको टिप्पणी गरे। उनले भने, “पहिले गिरिजाबाबुले डाकेको विभाजनलाई कृष्णभट्टराईले रोक्नु भएको थियो। अहिले त्यस्तै काम देउवाले गर्नुपर्छ। भेलामा आएर सम्बोधन गर्नुपर्छ।”
उनले आगामी निर्वाचनका लागि पार्टीमा ‘न्यु फेस, न्यु म्यासेज’ आवश्यक रहेको उल्लेख गर्दै विशेष महाधिवेशनको भेलाले यसबारे स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे।