मेची पुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १० बजे प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर नगरपालिका–६ निवासी ४० वर्षीय चेतन कटुवालको उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।