शिक्षा पत्रकार समूहद्वारा शेषकान्त पण्डित स्मृति पुरस्कार स्थापना
काठमाडौं — शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव तथा गोरखापत्र दैनिकका सहसम्पादक दिवंगत शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार स्थापना गर्ने भएको छ।
पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जली सभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन स्मृति पुरस्कार स्थापना गर्ने घोषणा गरिन्।
सो अवसरमा समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले शेषकान्त पण्डितलाई एक व्यावसायिक, चिन्तनशील तथा जिम्मेवार पत्रकारको रूपमा स्मरण गरे। उनले पत्रकारितामार्फत शिक्षा क्षेत्रको विकासमा पण्डितले उल्लेखनीय योगदान दिएको बताए।
शेषकान्त पण्डितको २०८० माघ १७ गते अर्बुद (क्यान्सर) रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ साल वैशाख १८ गते जन्मिएका पण्डित शिक्षण तथा लेखन क्षेत्रमा पनि सक्रिय थिए।
समूहले स्मृति पुरस्कारसम्बन्धी मापदण्ड, प्रदान गर्ने विधि र समयबारे थप विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ।